पीपल वृक्ष (Ficus religiosa)
कोटेश्वर महादेवस्थान परिसरका पीपलका ठूला ३ वृक्षहरूमध्ये परिसरबाहिर मूल दक्षिण ढोकाको सामुन्ने महादेवस्थान मार्गसँगै रहेको यो पीपलको वृक्ष महादेवस्थान परिसरकै सबैभन्दा पुरानो एवं जेठो वृक्ष हो । यो वृक्ष कोटेश्वर महादेवस्थान क्षेत्रनिवासी घनश्याम भट्टराईद्वारा रोप्नु भएको कुरा सोधखोजको क्रममा कोटेश्वर निवासी ८६ वर्षीय पुरूषोत्तम भट्टराईले मधुसूदन भट्टराईका हजुरबाले रोप्नु भएको भन्ने सुन्नमा आयो । सोवारे थप सोधखोज गर्ने क्रममा कोटेश्वरबाट हाल पेप्सीकोला क्षेत्रमा बसाई सरेका घनश्याम भट्टराईका नाति मधुसूदन भट्टराईका भाइ ७५ वर्षीय सुदर्शन भट्टराईले पनि उक्त सहमति जनाउनु भयो । उहाँको भनाइ अनुसार घनश्याम भट्टराईले कोटेश्वर महादेवस्थान परिसरमा रहेको सत्तलमा बस्ने गुन्द्रुके जोगी भनिने साधुको सहयोगमा रोप्नु भएको हो, मैले सुने–थाहा पाए अनुसार यो कुरा ठीक हो भनी बताउनु भएको छ । (काठमाडौं–३२, कोटेश्वरका तत्कालीन वडा अध्यक्ष श्रीमती सविता भट्टराई पनि निजसँग मैले कुरा गर्दा सँगै हुनुहुन्थ्यो ।) यो वृक्ष २०० वर्षभन्दा बढी समय वि.सं. १८८० देखि उभिई फैलिरहेको छ । यसले कोटेश्वर महादेव स्थानको परिचय, हरियाली, छहारीका साथै पात, झिक्रा– दाउराका साथैदशैँ–तिहारमा पिङ्ग खेल्ने सुविधा र पंक्षीहरूलाई आश्रय पनि दिइरहेकै छ । ज्यादै ठूलो भई फैलेको यसको फेदको वरिपरिको नाप ३९’ मोटो भएको अवस्था छ । उचाइ १६०’६” रहेको छ । यस वृक्षमा पहिले ईँटाद्वारा निर्मित चारकुने चौतारो थियो । यो चौतारोमा बसी चुनावताका मानिस भाषण पनिगर्थे । हाल रूख ठूलो हुँदै जाँदा र बाटो पीच गर्दै जाँदा अग्लो भै पुरिदै आएकोले हालै समाजले लगभग १’५” जतिको गोलो गाह्रो लगाई चौतारोको रूप दिएको छ । विशेष गरी शनिवार धेरै भक्तहरूले जल चढाउने, पूजा गर्ने, धागो वरिपरि बाँध्ने आदि गर्दै आएकोदेखिने यो वृक्ष महादेवस्थानको परिचय दिने मूल वृक्ष भएकोलेधेरैपुरानो र महिमा भएको यो वृक्ष जोगाइराख्नु आवश्यक छ ।
कोटेश्वर महादेवस्थानका कार्यक्रममा जनसहभागिता
कोटेश्वर महादेवस्थान परिसरमा समय समयमा हुने विभिन्न धार्मिक–सामाजिक पर्व, उत्सव, संगीतमय शिवआरती, शिवरात्रि, त्रिपुरोत्सव, दशाचल महायज्ञ, कोटिहोम, बोलवम, धर्मघटदान, सातु–सर्वत दान आदि कार्यक्रममा ठूलो जनसहभागिता हुँदै आएको छ । समाज र उपसमितिलाई सधैँ उत्सहित गर्ने त्यस्तो जनसहभागिताले समाजका बैठकलगायतका कार्यक्रममा कोटेश्वरवासी र अन्यत्रबाट पनि व्यक्तिगत एवं संस्थागत अपार सहभागिता रहँदै आएको अवस्था निकै उत्प्रेरक छ ।
द्वारपाल गणेश
कोटेश्वर महादेवस्थान मूल मन्दिरको प्रवेशद्वारको पूर्वपट्टिको शार्दूलसँगै दाचिअप्पा ईँटाबुट्टासहित समितिद्वारा २०७७ सालमा जिर्णोद्धार गरी सिंगारिएको उचाई २२” × चौडाई १८” साइजको गणेश भगवान्को श्रीविग्रह छ । भुईदेखि १.५ फिट उँचाईमा कमलपत्रको आसनमा बसेको अवस्थाको सो विग्रहका गणेशजीले ४ हातमा भाला, वञ्चरो, लड्डू र कमलको फूल लिनुभएको छ । विग्रह कालो शिलाको छ । नागको जनै लगाउनु भएको, मुकुटसहित पछ्यौरा पहिरिनु भएको गणेश भगवान्का वाहन मुसाका २ विग्रहसँगै दायाँ बायाँ रहेका देखिन्छन्। विग्रहको अगाडि ७”×७” साइजकोगोलो मण्डप छ ।
पहेंलो रंगको गजूरसहित मन्दिरको उचाइ ६’५” र चौडाई ४’५”× उत्तरदक्षिण लम्बाई १’८” छ । मन्दिरका पुजारीद्वारा बिहान–बेलुका पूजा आरती हुने गरेको यस मन्दिरकोअवस्था राम्रो छ । गणेशजीको पर्व परेको दिन विशेष पूजा पनि हुन्छ । महादेवको द्वारमा रहनु भएकोले द्वारपाल गणेशका रूपमा पनि पुकारिने यी गणेशको मूल मन्दिरमा दर्शन एवं पूजामा आउने भक्तहरूद्वारा अग्रपूजा र दर्शन हुने गर्दछ ।
भित्री परिसरका दुई पीपल वृक्ष वरिपरिको क्षेत्र
कोटेश्वर महादेवस्थान परिसरमा भित्रपट्टि पीपलका दुईवटा वृक्षका फेदमा वरिपरि ः
अष्टभुजा सिंहबाहिनी भगवतीको पश्चिमाभिमुख आसनसहित उचाइ १९”× चौडाइ १२” साइजको कालो शिलाको विग्रह छ । भगवतीले हातमा चक्र, तरवार, गदा र अभयमुद्रा सहित त्रिशूल, धनुष,कमलको पूmल र ज्वाला (?) लिनुभएको विग्रह पीपल वृक्षको पश्चिमतर्फ रहेको छ ।
उत्तराभिमुख, जुंगा भएका, जामा पहिरिएका एक हातमा गदा र एक हातमा अभय मुद्रा भएका उचाइ १३” चौडाइ ८” साइजका भीमसेनको कालोशिलाको एक विग्रह छ ।
क) तीनखण्डे एउटै शिलाको कालोरंगको १, त्यसपछि सोसँगै उत्तरपट्टि उत्तरोत्तर क्रमले १/१ गरी चारवटा शिला आकृति छन्। पढ्न गाह्रो हुने एउटा पुरानोशिलालेख अनि शिलाको ऐना आकृति १ र पीपलको वृक्षका पूर्वतर्फ अक्षर पढ्न गह्रो हुने शिलाका पुरानो शिलालेख, विभिन्न साइजका ४ समेत जम्मा १० वटा शिला आकृति छन्। उक्त शिलाहरू मध्येकुनै हाल कोटेश्वर सरस्वती माध्यमिक विद्यालय भएको क्षेत्रमा रहेका र कुनै पश्चिमतर्फको सिँढी नजिकै रहेकोमा हाल संरक्षणका निम्ति एकत्रित गरी राखिएको जानकारी प्राप्त भएको छ । कोटेश्वर क्षेत्र र वागमती नदीपारी आलोकनगर क्षेत्रका नगरकोटी थर भएका केही व्यक्तिहरूले यस्ता शिला भएका स्थानमा कुल देवताको पूजा गर्ने गरेको श्री आत्माराम रिजालबाट जानकारी प्राप्त भएको छ भने चौतारामाथि उत्तर–पूर्वतर्फ ढुंगाको उचाइ २१” चौडाई ११” साइजको एकजना भक्तको नमस्कार मुद्राको शिलाको मूर्ति छ । मूर्ति हेर्दा दुईजना (दम्पती) भएको स्पष्ट अनुमान गर्न सकिने, सो मूर्तिको आधाभाग फुटेर गएको देखिन्छ । दुवै मूर्ति पीपलका फेद चौतारामा फूलका गमलाहरूसँगै छन्। शिलाका २ वटा गोलो आकारका गजूरकै फुटेका भाग माटोमा गाडिएकोअवस्थामा छन्।
वनदेवी (?)
भैरवस्थान भनिने स्थानमा हाल वनदेवी नामकरण भएको स्थानमा दायाँ बायाँ शिलाका दुई खम्बाका बीचमा भैरवले दुवै हातले दु्ईवटा नागहरू खाइरहेको, दायाँ बायाँ दुवैतर्फ नागकन्याहरू भएको पश्चिमाभिमुख अवस्थाको एउटा शिलाको विग्रह छ । नागकन्याका आकृति माटाका जस्ता देखिन्छन् । तल्लो भागमा दायाँ बायाँ शिलाका दुई वाहनसहित शिलाकै विभिन्न आकृतिको ठूलो तोरणमुनि सानो तोरण र सोभन्दा तल ढुंगाकै आसनमाथि खोपामा राखिएको एउटा शिलाको विग्रह छ । दायाँ बायाँका खम्बाका फेदमा गणेश र भीमसेन (?) वा कुमार (?) का विग्रह पनि छन्। मन्दिर खुला स्वरूपको छ । यो क्षेत्रलाई पीपलको चौतारोसहित दाचिअप्पा ईँटाबुट्टाद्वारा भुईँदेखि १५” उचाइमा समाजले २०७७ सालमा जिर्णोद्धार गरी सिंगारेको छ । मन्दिरको साइज उचाइ ७४” लम्बाई ७३” चौडाई ६८” को छ । यो क्षेत्रमा पीपलको जरामा सिक्रीमा अड्याइएको सानो घण्ट पनि छ ।
संयुक्त रूपमा गणेश, कीर्तिमुख भैरव, गुह्येश्वरी र महांकाल भैरव
कोटेश्वर महादेवस्थान परिसर भित्रपट्टि सरस्वती मन्दिरको उत्तर आशापुरेश्वर महादेव र सीताराम मन्दिरका बीचमा, मूलमन्दिरको पूर्वपट्टि गणेश, कीर्तिमुख भैरव, गुह्येश्वरी र महांकल भैरवका शिलाका छुट्टाछुट्टै विग्रहरू छन्।
गणेशको विग्रह आसनसहित उचाइ १६” × चौडाइ १०” को, कीर्तिमुख भैरवको विग्रह आसनसहित उचाइ १८” × चौडाइ १५” को, गुह्येश्वरीको विग्रह आसनसहित उचाइ ११” × चौडाइ ११” कोर महांकाल भैरवको विग्रह आसनसहित उचाई१८”× चौडाई१३.५” का छन्।
यी संयुक्त विग्रहहरू सरस्वती मन्दिरको पछाडिका खण्डहरूका जस्तै भएपनि गणेशको विग्रह दुईवटा मुसामाथि उभिएको छ । आयुध पनि थोरै बिग्रिएकोले राम्ररी पहिचान गर्न गाह्रो छ ।
आशापुरेश्वर महादेव
कोटेश्वर महादेवस्थान परिसरमा भित्रपट्टि सरस्वती मन्दिरको उत्तर र सीताराम–राधाकृष्ण मन्दिरको दक्षिणतर्फ एउटा सानो मन्दिरमा दाचिआप्पा ईँटाबुट्टासहित भुइँदेखि ३.५ फिट उचाइमा बसाहासहित कालो शिलाको जलहरी एवम् सोमाथि सेतो रंगको शिवलिङ्ग छ । मन्दिरमा पहिले आशापुरेश्वर महादेव लेखिएको नामप्लेट टाँस गरिएकोमा हाल सो प्लेट त्यहाँछैन ।
मन्दिरको उचाइ ८’२” चौडाइ २’७” रहेको भित्र आशापुरेश्वर महादेव, गणेश र नमस्कार गरेको अवस्थाको भक्तको शिलाका मूर्तिहरू पनि छन्। पुजारीद्वारा दैनिक पूजा, आरती हुने गरेको सो मन्दिरको अवस्था राम्रो छ । बाहिरी स्वरूप समाजले २०७७ सालमा दाचिअप्पा ईँटा बुट्टाद्वारा जीर्णोद्धार गरेको छ ।
ढुङ्गे गजूर
महादेवस्थान परिसरमा भित्रपट्टि आशापुरेश्वर महादेव र सीताराम–राधाकृष्ण मन्दिरको बीचमा ढुङ्गाको १६ वटा कमल पत्र भएको एउटा ढुङ्गे गजुर पनि छ । कमलपत्रमा नाप्दा जसको उचाई ४’८” र परिधि ८’३” रहेको पाइन्छ । समाजले २०७७ सालमा गजूर भएको स्थानको जीर्णोद्वार गरेको हो । यो गजूर कोटेश्वर महादेव (मूल मन्दिर) को पुरानो गजूर हो भन्ने कुरा राष्ट्रिय सब्ग्रहालयमा रहेको वि.सं. १८९१ को शिलालेखको व्यहोरासँग मिल्ने जस्तो देखिन्छ । सो व्यहोरा अनुसार कोटेश्वर मन्दिरको पहिलेको सुनको गजूर चोरी भै हराएको हुनाले दाता जयनन्दले ढुङ्गाको गजूर चढाई प्रतिष्ठा गरेको विषय वर्णित छ । सब्ग्रहालयको कार्यालय रहेको रातो रंगको ढोका आकारको तल र माथि पर्खालसँगै राखिएका विभिन्न शिलालेखहरूको संग्रहसँगै रहेको एउटा शिलालेखमा यो विषय उल्लेख भएको छ ।)
हाल उत्खनन भैरहेको गैह्री धारोसँगैको पाटी र पूलबारी
मध्यकालीन ईँटा प्रयोग गरी पूर्व फर्केर ओर्लने सिँढीसहितको ढुंगे भ¥याङ्ग अनन्त नारायणको मूर्ति राखी एउटा ढुंगे धारो ने.सं. ९०४, ई.सं. १७८४, वि.सं. १८४० चैत्रशुक्ल त्रयोदशीशुक्रवार ललितपत्तन बं बहाल ननीये तादशों कछें निवासी गोविन्दसिंह भारोद्वारा निर्माण भएको रहेछ सो कुरा कोटेश्वर क्षेत्रका देवपीठहरू नामक भोलाकाजी श्रेष्ठद्वारा लिखित पुस्तकको पृष्ठ ३४ मा उल्लेख छ । कालक्रमले पुरिएर रहेको उक्त धारो हाल काठमाडौँ महानगरपालिकाद्वारा उत्खनन भै पुनर्निर्माण गरेर चालु गराउने प्रयास भैरहेको देख्न पाइन्छ ।
यो धारोसँगै गोविन्द सिंहभारोले नै एउटा पाटीसमेत बनाएको कुरा पनि सोही पुस्तकको पृष्ठ ३४ मा उल्लेख छ । हाल सो पाटी अस्तित्वमा छैन । पाटी जीर्ण भै भत्कँदा सो पाटीका इँटाद्वारा कोटेश्वर सरस्वती माध्यमिक विद्यालय स्थापना गर्दा विद्यालयको केही भाग बनेको कुरा भोलाकाजी श्रेष्ठ र स्थानीय गोविन्दप्रसाद पौडेल समेतले बताउनु भएको छ । उक्त धारो र पाटीसँगैको केही स्थानमा कोटेश्वर महादेवको पूmलवारी पनि थियो । यो स्थान हाल कोटेश्वर समाज सुधार युवा क्लबको भवन बन्दै गरेको स्थान सँगै हो भन्ने सुनिएको छ । पुरानो पानीको स्रोत मुहानको सट्टा पाइपद्वारा ट्याङ्कीको पानी प्रवाह गरे पनि सडकभन्दा करिव १८।२० फिट तल धारो रहेकोले धारोबाट निसृत पानीको निकास कसरी गर्ने भन्ने लाग्दछ । धारोमा पुरानो मुहान नभएकोले पाइपबाटै पानी प्रवाह गर्नुपर्ने अवस्थामा बरू धारोलाई माथि उठाई पानी प्रवाह गरे धारोको उद्देश्य पनि पूरा हुने र निकासको लागि यस क्षेत्रको ढलबाट बढी पानी पठाउन सकिने व्यवस्था गर्नुपर्ने हो कि ? भन्ने लाग्दछ ।
कीर्तिमुख भैरव
कोटेश्वर महादेवस्थान परिसरको भित्रपट्टि सरस्वती मन्दिरको पश्चिम भित्ताका ३ खण्डमध्ये बीचको खण्डको माथिल्लो भागमा ने.सं. ९०४, ई.सं. १७८४, वि.सं. १८४० चैत्र शुक्लत्रयोदशी शुक्रवार ललितपत्तन बं बहाल ननीये तादशों कछें निवासी गोविन्दसिंह भारोले स्थापना गरेको कीर्तिमुख भैरवको पश्चिमाभिमुख आसनसहित उचाइ १० इन्च, चौडाइ ८ इन्चको शिलाविग्रह छ । पुजारीद्वारा बिहान बेलुका पूजा आरती हुने गरेको उक्त विग्रहको हालको अवस्था राम्रोछ ।
गुह्येश्वरी
कोटेश्वर महादेवस्थान परिसरको भित्रपट्टि सरस्वती मन्दिरको पश्चिम भित्ताका ३ खण्डमध्ये बीचको खण्डको तल्लो भागमा ने.सं. ९०४, ई.सं. १७८४, वि.सं. १८४० चैत्र शुक्लत्रयोदशी शुक्रवार ललितपत्तन बं बहाल ननीये तादशों कछें निवासी गोविन्दसिंह भारोले स्थापना गरेको गुह्येश्वरी माताको श्रीविग्रह १६” × १६” को कमलपत्रमा २.५” उचाइको षट्कोणसहित कालो शिलाको सोश्रीविग्रह रहेको स्थानमा पनि पुजारीद्वारा बिहान बेलुका पूजा आरती हुने गरेको सो श्रीविग्रहको हालको अवस्था राम्रो छ ।
गणेश
कोटेश्वर महादेवस्थान परिसरको भित्रपट्टि सरस्वती मन्दिरको पश्चिम भित्ताका ३ खण्डमध्ये उत्तरतर्फ ने.सं. ९०४, ई.सं. १७८४, वि.सं. १८४० चैत्र शुक्लत्रयोदशी शुक्रवारेललितपत्तन बं बहाल ननीये तादशों कछें निवासी गोविन्दसिंह भारोले स्थापना गरेको पश्चिमाभिमुख कालो शिलाको कमलपत्रासनमा बसेका गणेशजीको श्रीविग्रह छ । आसनको तल दायाँ बायाँ दुवैतर्फ वाहन मुसाका विग्रह पनि छन्। आसनसहित लम्बाई २७” चौडाइ १६” को सो विग्रह निकै आकर्षक छ । पुजारीद्वारा बिहान बेलुका पूजा आरती हुने उक्त विग्रहकोहालको अवस्था राम्रो छ ।
महांकाल भैरव
कोटेश्वर महादेवस्थान परिसरको भित्रपट्टि सरस्वती मन्दिरको पश्चिम भित्ताका ३ खण्डमध्ये दक्षिणतर्फ ने.सं. ९०४, ई.सं. १७८४, वि.सं. १८४० चैत्र शुक्लत्रयोदशी शुक्रवार ललितपत्तन बं बहाल ननीये तादशों कछें निवासी गोविन्दसिंह भारोद्वारा स्थापित पश्चिमाभिमुख आसनसहित उचाई २७”, चौडाई १६” को कालो शिलाको चार हातमा खड्ग, डमरू, कमलको पूmल र त्रिशूल लिनुभएको कलात्मक बुट्टासहित कमलपत्रमा उभिएको महाकाल भैरवको विग्रहकोस्वरूप आकर्षक छ । पुजारीद्वारा बिहान बेलुका पूजा आरती हुने सोविग्रहको वर्तमान अवस्था पनि राम्रो छ ।
उमामहेश्वर
कोटेश्वर महादेवस्थान परिसरको भित्रपट्टि मूल मन्दिरको इशान कोणमा लम्बाई ८’ र उचाई १५’ को गुम्बज शैलीको ने.सं. ९०४, ई.सं. १७८४, वि.सं. १८४० चैत्र शुक्लत्रयोदशी शुक्रवार ललितपत्तन बं बहाल ननीये तादशों कछें निवासी गोविन्दसिंह भारोद्वारा स्थापित एउटा मन्दिर छ । शिलाको आसनसहित लम्बाई ३०” चौडाइ २०” को शिलाको चारकुने अघ्र्यमाथि कमलपत्रको आशनमा बायाँ काखमा उमालाई लिनुभएका महेश्वरको कालो शिलाको विग्रह छ । उमा–महेश्वरका वाहनहरू कालो शिलाकै वृषभ र सिंह पनि दायाँबायाँ रहेका छन्। पुजारीद्वारा बिहानबेलुका पूजा आरती हुने विग्रह र मन्दिरको अवस्था राम्रो छ। दाचिअप्पा ईँटा बुट्टाद्वारा समाजले २०७७ सालमा मन्दिरको बाहिरी स्वरूप जीर्णोद्धार गरेकोले मन्दिरको स्वरूप अझ आकर्षक बनेको छ ।
पुजारी घर
कोटेश्वर महादेवस्थान परिसरकोभित्रपट्टि पुजारी आवास ढकाल पाटीकोपश्चिम र भवानीस्थानको पछाडि उत्तरतर्फ कोटेश्वर महादेवस्थानका पाण्डे थरका पुजारी बस्ने सो २ कोठे आवास स्नानकक्ष र शौचालयसहित समाजले २०७६÷७७ मा बनाई पुजारीहरूलाई त्यहाँ बसोबास गराई आएकोमा कोटेश्वर महादेव परिसरको गुरू योजना अनुसार निर्माण गर्न ढकालहरूद्वारा २०६१ सालमा निजी खर्चमा बनाई समाजलाई हस्तान्तरण गरेको सो ढकाल धर्मशाला र पुजारी आवास भत्काएर पुनर्निमाण कार्य भइरहेको छ ।
ढकाल धर्मशाला
कोटेश्वर महादेवस्थान परिसरको भित्रपट्टि मूल मन्दिरको उत्तर–पश्चिमतर्फ १ तले पक्की धर्मशाला थियो । पश्चिमपट्टि बाहिरबाट भ¥याङ्ग राखी छतमा जान सक्ने गरी २०६१ भाद्र ५ गते शनिवार कोटेश्वर क्षेत्रमा परापूर्वकालदेखि बसोबास गरी आएका पञ्चप्रवर उपमन्युगोत्रीय ढकालहरूद्वारा सो धर्मशाला बनाइएको थियो । श्री कुलदेवतालाई नमन गर्दै इष्टदेवका रूपमा सनातनदेखि पूजा–आराधना गर्दै आएका भगवान्श्रीnकोटेश्वर महादेवको वार्षिक पूजा–वन्दना, रूद्रीपाठ लगायतका धार्मिक कार्यहरू सम्पादन गर्ने र यसै क्षेत्रमा बसोबास गर्ने अन्य सर्वसाधारणका तर्फबाट गरिने धार्मिक पूजाआजा एवं विवाह ब्रतबन्ध आदि सामाजिक कार्यका लागि समेत प्रयोग गर्न सकिने उद्देश्यले सो धर्मशाला तयार भएको थियो । कोटेश्वरवासी सम्पूर्ण ढकाल परिवारहरूको सहयोगमा त्यस धर्मशालाको निर्माण कार्य सम्पन्न गरी तत्कालीन कोटेश्वर महादेवस्थान विकास समाजलाई उक्त धर्मशाला हस्तान्तरण गर्ने कार्य सुसम्पन्न भयो भन्ने व्यहोराको शिलालेख भित्तामा टाँस गरी धर्मशालाको काम सम्पन्न भएको हो । धर्मशाला भित्र एउटा मध्यम हल र हलको एक छेउमा सानोकोठा तयार गरी पूजासामानलगायतका अन्य सामग्री राख्न मिल्ने गरी बनाइएको त्यो धर्मशालामा विविध धार्मिक सामाजिक कार्यहरू हुँदै आएका थिए । कालक्रमले धर्मशाला जीर्णहुँदै आएकोले समाजले हालको आवश्यकता अनुसार दाताको कीर्ति नमासिने गरी पुनर्निर्माण गर्न अध्यक्षज्यूले भन्नु भएको हुँदा वहाँको भनाईमा विश्वास गरी पुनर्निर्माणका निम्ति संस्थापकहरूले स्वीकृति दिएपछि उक्त जीर्ण पाटी भत्काई पुनर्निर्माणको क्रम सुरू भएको छ ।
नवग्रह समूह
कोटेश्वर महादेवस्थान परिसरको भित्रपट्टि मूल मन्दिरको नैऋत्य कोणमा रहेका दुईवटा बसाहाहरू नजिकै भुईँदेखि ३०”×३०” को उचाइमा बाहिरी भाग ३८”×३८” र भित्री भागमा १५”×१५” को समथर स्थानमा शिलाका, गोला–गोला ९ वटा मण्डप आकारका नवग्रहका विग्रहरू छन् । व्यास ऋषिले गाउनु भएको नवग्रहस्तोत्र जपाकुसुमसंकासं........अनुसार सूर्य, चन्द्र, मङ्गल, बुध, वृहस्पति, शुक्र, शनि, राहु र केतु नवग्रहका नाम हुन्।
पुजारीद्वारा बिहान बेलुका पूजा आरती हुने गरेका र विशेष पर्वमा छुट्टै पूजा पनि हुने गरेकोले नवग्रहको अवस्था राम्रो छ । भुईँमा भएका नवग्रह समूहलाई सोही स्थानमा उक्त उचाइमा समाजले २०७७ सालमा दाचिअप्पा ईँटाबुट्टाले सजाइएको स्थान बनाई राखेको हो । वेदीमा नवग्रहको सामूहिक अवस्थिति यस्तो हुन्छ ः
आरती भजनमण्डप
लम्बाई १३’७” चौडाई ४’६” उचाइ ८’६” को आरती भजनमण्डपको निम्ति फलामको फ्रेम तयार गरी, तल सामान राख्न मिल्ने, फलामकै खापासहितको आल्मारी दराजसमेत बनाइएको छ । पूर्वतर्फ ः काइँयोको रूखको फेद/चौतारोमा फलामको सादा बार, दक्षिणतर्फ फलामको सादा मण्डप प्रवेशद्वार, पश्चिम र उत्तरतर्फ फलामको बुट्टादार बार र छतमा फलामको फ्रेममाथि प्लाष्टिकको छाना भएको यो मण्डपमा वाद्य यन्त्रहरूसहित ५–६ जना संगीतकर्मीहरू बस्न पुग्ने क्षमता छ । २०८० सालमा कोटेश्वर महादेव क्षेत्र विकास तथा व्यवस्थापन समाजद्वारा तयार गरिएको यो मण्डपको समाजद्वारा नियमित रूपमा सरसफाई हुने गरेकोले वर्तमान अवस्था राम्रो छ ।
२०७४ असार २ गते शनिवारदेखि प्रत्येक शनिवार साँझ सब्गीतमय शिव आरती गरिँदै आउनुका साथै विशेष पर्व/उत्सवहरूमा मध्यान्ह वा समाजले तोकेको उपयुक्त समयमा पनि भव्य रूपमा आरती हुँदै आइरहेको सुखद अवस्था छ । २०८१ चैत्रमा समाजद्वारा पित्तलको बुट्टेदार झल्लरीले माथिपट्टि वरिपरि सजाइएको यो मण्डपमा साँझ र रातमा उज्यालोका लागि १० वाटका ५ वटा LED बत्ती समाजद्वारा जडान गरिएका छन् । हाल पँहेलो रंग लगाइएको यस मण्डपमा समाजको नामको पृष्ठभूमिमा सरस्वती स्तोत्रका ८ श्लोकहरू र रूद्राष्टकम् छापिएको बोर्ड पनि राखिएकोले मण्डप प्रशस्त आकर्षक बनेको देखिन्छ ।
भक्तहरूका दुई जोडी दम्पती
कोटेश्वर महादेवस्थान परिसरमा भित्रपट्टि मूल मन्दिरको ठीक सामुन्नेको ठूलो घण्टको दायाँ बायाँ भुँइदेखि १.५ फिटको उचाइमा घण्टको पूर्वतर्फ पुरूषको ३२” उचाई र महिलाको २७” उचाइ को एउटा र पश्चिमतर्फ पुरूषकोउचाइ १६”×महिलाको उचाइ १४” को एउटा गरी जम्मा दुई जोडी भक्तहरूका मूर्ति छन्। कालो प्रस्तरको एकै आसनमा १।१ घुँडा मारी अञ्जली मुद्रामा कोटेश्वर महादेवमा वन्दना गरिरहेको अवस्थाका ती दुई जोडी भक्तहरूका मूर्ति राम्रो अवस्थामा छन् । दुवै मूर्तिका आसनमा शिलालेख छन् तापनि आंशिक ढुंगाका रूपमा पाप्रा उक्किएका र लिपिविज्ञ विना पढ्न गाह्रो हुने अवस्था चाहिं विद्यमान छ । र, पनि मूर्तिहरूको हालको अवस्था राम्रो छ भनेकुँदिएका अक्षरको अवस्था त्यति राम्रो छैन । प्रस्तुत दुवै जोडी भक्तहरूका सम्बन्धमा – पूर्वतर्फको सालिक रामनाथ खत्री दम्पतीको, ने.सं. १०६२ र पश्चिमतर्फको सालिक देवीबहादुर खत्री दम्पतीको, वि.सं. १९४७ भनी भोलाकाजी श्रेष्ठले आफ्नो पुस्तक कोटेश्वर क्षेत्रका देवपीठहरूमा उल्लेख गर्नुभएको छ । साथै सानो सालिकका सम्बन्धमा उक्त सालमा ललितपुर सौगल कृष्णचोक बस्ने रत्नमाया खत्रीले आफ्नो लोग्ने देवीबहादुर खत्रीको सालिक स्थापना गरेको व्यहोरा पनि उक्त पुस्क्तकको पृष्ठ ११४ मा उल्लेख छ ।
सरस्वती मन्दिर
ने.सं. ९०४, ई.सं. १७८४, वि.सं. १८४० चैत्र शुक्लत्रयोदशी शुक्रवार ललितपत्तन बं बहाल ननीये तादशों कछें निवासी गोविन्दसिंह भारोद्वारा यो सरस्कती मन्दिर स्थापना भएको व्यहोरा भोलाकाजी श्रेष्ठको पुस्तक कोटेश्वर क्षेत्रका देवाणीहरूको पृष्ठ ३४ छ भने सोही पुस्तकको पृष्ठ ४२ मा भने वि.सं. १८३८ उल्लेख भएकोले स्थापना मिति फरक देखिन्छ ।
कोटेश्वर महादेवस्थान परिसरमा भित्रपट्टि मूल मन्दिरको नजिकै आग्नेय कोणमा पुराना मध्यकालीन ईँटा बुट्टासहित गुम्बज शैलीको गजूर भएको गुम्बज सेतो रंग लगाएको छानाको चारै कुनामा चारैतिर फर्केका ४ वटा १६” × १२” का कलात्मक विग्रहरू छन्। विग्रह हेर्दा अनुहारले हनुमानजस्तो देखिए पनि यही हो भन्ने सोधपुछ गर्दा समेत यकिन गर्न सकिएन ।
पूर्वाभिमुख यस मन्दिरको लम्बाई ११’ × चौडाई ११’ र गजूरसहितको उचाइ करिब २२ फिट रहेको छ । मन्दिरमा चारैतिर ईँटाका विभिन्न बुट्टाहरू रहेका छन् । मन्दिरको भित्तामा पूर्व ढोका र पश्चिमका देवताहरूसम्म दायाँ बायाँ दुई जोडी नागले रक्षा गरिएका छन्।
सरस्वती मन्दिरकोपश्चिम गारोमा एउटा ३ खण्डेपिँढी बनाइएको छ । खण्ड छुट्याउने काला ढुंगा छन्। खम्बामाथि निदाल ढुंगाकै छन्। ढुंगाभित्र दलिनमा काठ प्रयोग भएको छ ।
सरस्वती माताको विग्रहको उचाइ ३’४” र चौडाई १’४”को छ । आसनको उचाइ ०.५” र चौडाई जल बग्ने ठाउँसहित २.११” रहेको छ । सरस्वती माताको कमलपत्रे आसनमाथि उभिएर दुई हातले वीणा बजाउन लाग्नुभएको छ भने अरू दुई मध्ये एउटा हातमा पुस्तक र अर्को हातमा रूद्राक्षमाला लिएको विग्रह छ । माताका पाउसँगै बाहन हाँस पनि छ ।
पुजारीद्वारा बिहान बेलुका पूजा आरती हुने गरेको मन्दिरको अवस्था राम्रै भए तापनि यही २०८२ वैशाख १७ गते अक्षय तृतीयाका दिन मन्दिरमा दाचिअप्पा ईँटा बुट्टाद्वारा जीर्णोद्धार गर्ने भनी मन्दिरको बाहिरी गाह्रो भत्काउन सुरू गरी केही दिनपछि नै मन्दिरको चारै सुरबाट गाह्रो लगाउन सुरू गरेर २०८२ असारमा कार्य सम्पन्न भएको छ । श्रीपञ्चमी पर्वमा केटाकेटीको अक्षरारम्भ गर्ने परम्परा अनुसार त्यहाँ यस दिन पुजारी एवं विभिन्न व्यक्तिहरूले पूजा आराधना गर्ने गरेको पाइन्छ ।
सत्तल एवं पुरानो जोशी पाटी
कोटेश्वर महादेवस्थान भित्री परिसरमा मूल मन्दिरको पश्चिम भवानीस्थानको दक्षिणतर्फ बाहिरी नापसहित भित्री नाप लम्बाई३८’५” × चौडाइ १४” उचाइ करिब ८ फिटको दाचिअप्पा ईँटाबुट्टाद्वारा निर्मित अगाडि खुल्ला र ठाउँठाउँमा ढोकासहित काठे बुट्टेदार हुक्का जडान भएको भित्र भुइँमा काठको पार्केटिङ्ग गरिएको पित्तलको झल्लरीसहितको एउटा सत्तल छ, जसलाई जोशी पाटी सत्तल भनिन्छ । समय क्रममा जीर्णोद्धार गर्नुपर्ने अवस्था भै समाजले पाटी निर्माता जोशी परिवार वा सोसँग सम्बन्धित व्यक्ति खोजी गरेर सम्पर्क गरेर वहाँहरूको सहमतिमा समाजले वि.सं. २०७४।७५ सालमा उक्त पाटीको स्वरूपमा जीर्णोद्धार गरेको व्यहोरा समाजका वर्तमान सचिव श्री आत्माराम रिजालद्वारा थाहा भएको छ । समाज र अन्य दर्शनार्थीलगायतले विभिन्न धार्किक सामाजिक काममा प्रयोग गरिरहेको यो सत्तलको हालको अवस्था आकर्षक एवं राम्रो पनि हो ।
श्री कोटेश्वर महादेव रामायण भजनमण्डल
कोटेश्वर महादेवस्थान भित्री परिसरको दक्षिण मूल ढोकासँगै पश्चिमतर्फ उत्ताराभिमुख एउटा एकनाले तीन कोठे सत्तल भवन छ । भवनको बाहिरी नाप लम्बाई ३५फिट चौडाइ २० फिट र कोठाको भित्री नापको उचाइ ९ फिट छ । यस भवनमा कोटेश्वर महादेव रामायण भजनमण्डल नामक संस्था छ । यसमा प्रत्येक दिन बिहान बेलुका पाञ्चायन भजन हुन्छ । भजनमा स्थायी रूपमै सहभागीहरूको संख्या निकै देखिन्छ । भजन २०५२ सालदेखि सुरू भए पनि २०५६ सालदेखि नियमित चलिरहेको थाहा भएको छ। प्रत्येक वर्ष चैत महिनाको चौथो सोमवारका दिन तुलसीकृत रामायण पाठका साथै वार्षिक भजन कार्यक्रम भव्यरूपमा सञ्चालन हुँदै आएको छ । रामायण भजनमण्डलको नाममा रू. ५ लाख बराबरको एउटा अक्षयकोष कृषि विकास बैँक कोटेश्वर शाखामा राखिएको छ । सो रकमको प्राप्त व्याज रकमबाट समितिको निर्णयानुसार वार्षिकोत्सवमा खर्च गर्ने गरिएको छ । भवनका ३ कोठा मध्ये दुई कोठालाई एकै बनाई हलको रूप दिइएको छ २०६०/६१ मा नयाँ स्वरूपमा निर्माण भएको रामायण भजनमण्डल भवन निर्माणमा सहयोग गर्ने २८५ दाताहरूको नामावली विवरणको शिलालेख भवनकै उत्तरपट्टि भित्तामा टाँस गरिएको छ ।
रामायण भजनमण्डलको भित्र कोठामा एउटा सानो तर छरितो मन्दिर बनाई कालो शिलामा सीताराम लक्ष्मण एवम्हनुमानका विग्रह राखिएका छन्। मन्दिरमा राखिएको अष्टधातुको गणेशको मूर्तिकोमन्दिरको वरिपरि बसी भजन गर्ने गरिएको छ । विशेष पर्वमा अन्य समयमा पनि भजन गर्ने गरिएको यो भजन मण्डलको अवस्था राम्रो छ ।
अद्वैत संस्था
परिसरभित्र रामायण भजनमण्डल भएको भवनको पश्चिमतर्फको चौथो कोठामा अद्वैत संस्था कोटेश्वर शाखा वि.सं. २०५२ सालदेखि सञ्चालनमा रहेको छ । अद्वैत संस्थाद्वारा प्रत्येक दिनका बिहान र विशेष दिन अवसरहरूमा पनि सत्संग चिन्तन चलिरहेको पाइन्छ ।
तुलसी मठ
कोटेश्वर महादेवस्थान भित्री परिसरमा मूल मन्दिरको उत्तरपट्टि ३ फिटको उचाइमा दाचिअप्पा ईँटाबुट्टाद्वारा बनेको चारैतिर नाप्दा ८’३” साइजको परिधि भएको एउटा तुलसी मठ छ । मठमा रोपिएकी तुलसीको सुरक्षा गर्न जालीमा हरियोलगाइएको चारकुने फलामको जालीले घेरिएको छ ।
त्रिशूल/डमरू
कोटेश्वर महादेवस्थान परिसरमा भित्रपट्टि मूल मन्दिरको उत्तरतर्फ तुलसी मठसँगै ठीक उत्तरपट्टि भुइँदेखि ४.५” उचाइमा उचाइ ३५”×१२” भएको प्रस्तरको एउटा शिलामा त्रिशूल, डमरू र फर्सा (बञ्चरो) रहेका छन्। अवस्था हेर्दा यो रचना मूल मन्दिर जत्तिकै पुरानो हो कि भन्न सकिन्छ । यस सँगसँगै ठीक उत्तरपट्टि भुइँदखि ४२” उचाइमा आठकोण भएको २’९” (३३”) मोटो प्रस्तरको ३ फिट उचाइमा बाँधिएको पहेँलो रंग लगाइएका धातुको ७’८” को त्रिशूल, डमरू र फर्सा पनि छन्जसकोअवस्था पनि राम्रो छ ।
मनकामना मन्दिर
कोटेश्वर महादेवस्थान परिसरमा मूल मन्दिरको प्रवेशद्वारसँगै पेटीमा पश्चिमतर्फको शार्दूलसँगै एउटा मन्दिरमा उत्तरतर्फ फर्केको माता मनकामना देवीको मन्दिर छ । उत्तर फर्केको तोरणअगाडि ३ वटा शिलाका निराकार विग्रहहरू छन्। बीच र पश्चिमतर्फका शिलाको तोरणको उचाइ २२” र चौडाई ३८” का दुइवटा एवम् पूर्वतर्फको सानो शिलाकै विग्रह छन्। विग्रहहरू ३ वटा भएकाले मनकामना देवी तथा अन्य देवीका पनि हुन सक्ने देखिन्छ । यस मन्दिरलाई केहीले गौरीको मन्दिर पनि भन्ने गरेको सुनियो । पुजारीद्वारा नियमित बिहान–बेलुका पूजा–आरती हुने गरेको यो मन्दिरको अवस्था राम्रो छ । दाचिअप्पा ईँटाबुट्टाद्वारा समाजले २०७७ सालमा मन्दिरको जीर्णोद्धार गरी सिंगारेको छ । पहेँलो रंगका गजूरसहित मन्दिरको साइज उ. ७९”×चौडाई ५३”×१९” को छ।
भवानी स्थानअगाडि जोशी पाटीको उत्तरी भित्ताको बोर्ड
कोटेश्वर महादेवस्थान भित्री परिसरमा भवानीस्थानअगाडि जोशी पाटीको उत्तरी भित्तामा ९’६”×२’९” साइजको एउटा वोर्ड २०७७ सालमा समाजद्वारा बनाइएको छ । यो बोर्ड दाचिअप्पा ईँटाबुट्टाको फ्रेममा सिमेन्टले बनेको छ । हाल खालि रहेको यो बोर्ड कोटेश्वर महादेवस्थानका निम्ति समाजलाई सहयोग गर्ने दाता/भक्तहरूको शिलालेख राख्ने प्रयोजनका लागि तयार गरिएको बुझिएको छ ।
भवानीको वाहन
कोटेश्वर महादेवस्थान भित्री परिसरमा अवस्थित भवानीस्थानको तीन खण्डे ढोकामध्ये बीचको ढोकाकोसामुन्ने भुईँदेखि ९” उचाइमा भवानी मातातर्फ फर्केको शिलाको एउटा बाहन नन्दी छन्। बसेको अवस्था लाग्ने नन्दी हुन् भन्ने लाग्दछ नन्दीको मूर्ति खिइएको अवस्थामा छ । दाचिअप्पा ईँटाबुट्टाद्वारा समाजले २०७७ सालमा यसको जीर्णोद्धार गरेको हो ।
भवानी स्थानका एक जोडी शार्दूलहरू
कोटेश्वर महादेवस्थान भित्री परिसरको भवानी स्थानको अगाडि तीनखण्डे प्रस्तरको खुला मूलढोकाका दायाँ बायाँ भुइँदेखि १ फिटमाथि ढुङ्गाका आसनमा विराजमान एक जोडी शिलाका दक्षिणाभिमुख शार्दूल छन् । शार्दूलहरू माता भवानीका द्वारपालका रूपमा रहेका देखिन्छन् । समाजले दाचिअप्पा ईँटाबुट्टाद्वारा २०७७ सालमा यो स्थान संरक्षण गरेकोले अवस्था राम्रो छ ।
कोटीश्वर महादेव
२०७९/८० सालमा कोटेश्वरनिवासी उपमन्यू गोत्रीय पञ्चप्रवरवाला ढकाल परिवारद्वारा कोटेश्वर महादेवस्थानको भित्री परिसरमा मूल मन्दिरको उत्तरतर्फ चौसठ्ठी शिवलिङ्गसहित द्वादश ज्योतिर्लिङ्ग परिसरभित्रको मध्यस्थानमा पञ्चमुखी ज्योतिर्लिङ्ग कोटीश्वर महादेवको श्रीविग्रह स्थापना भएको छ । चौंसठ्ठी शिवलिङ्ग र द्वादश ज्योतिर्लिङ्ग क्षेत्रले ओगटेको३६’×३३’ फिटको मध्यस्थानमा अवस्थित यो मन्दिर भुईँदेखि ४०” को उचाइमा छ । कालोरंगको शिलाको लम्बाई करिब ५३”×चौडाई करिब ५३” को उचाइमा ४ कुनामा ४ वटा काला ढुङ्गका खम्बामाथि कालो ढुङ्गाकै छत, गजूर भएको खुला मन्दिर होयो । मन्दिरको बीचमा कोटीश्वर महादेव विराजमान रहनुभएको छ । मन्दिरको सिलिङ्गमा चारवटा सिक्रिमा अड्याइएको पित्तलको जलहरी झुण्ड्याइएको छ । भुईँदेखि ३०” उचाइमा कोटीश्वर महादेवको पश्चिमतर्फ कालो ढुङ्गा छापिएको लम्वाई ३०” चौडाई १४” को कालो शिलाको बसाहा पनि शिवजीतिर फर्केको अवस्थामा स्थापना गरिएको छ । कोटीश्वर महादेव एवम् कोटीश्वर महादेव वरिपरि स्थापित चौंसठ्ठी शिवलिङ्ग र द्वादश ज्योतिर्लिङ्गको विधिवत्प्राण प्रतिष्ठाको कार्य संस्थापक ढकाल परिवार, समाज र दाताहरूका प्रतिनिधिहरू भई संयुक्त रूपमा २०८० माघ १८, १९ र २० गते यही परिसरमा सम्पन्न गरिएको हो । पुजारीद्वारा बिहान – बेलुका पूजा आराधना हुनुका साथै शिवपर्वहरूमा विशेष पूजा हुने गरेको यस मन्दिरको अवस्था राम्रो छ। यहाँ भक्तहरूद्वारा पनि प्रत्येक दिन विशेषतः बिहान–बेलुका परिक्रमासहित पूजा आराधना र जलार्पण हुने गरेको देखिन्छ ।
चौंसठ्ठी शिवलिङ्ग र द्वादश ज्योतिर्लिङ्ग एवं पशुपतिनाथका चार मुखाकृति
कोटेश्वर महादेवस्थान परिसरमा भित्रपट्टि मूल मन्दिरको उत्तर–पूर्वमा अवस्थित उत्तर–दक्षिण ३६ फिट र पूर्व–पश्चिम ३३ फिट स्थानमा समाजले २०७९÷८० मा कोटेश्वरनिवासी ढकाल परिवार र जनसहभागिताद्वारा चौंसठ्ठी शिवलिङ्गसहित द्वादश ज्योतिर्लिङ्ग स्थापना गरेको छ । भुइँदेखि ३२” को उचाइमा दाचिअप्पा ईँटाबुट्टाद्वारा इशान, आग्नेय, नैऋत्य र वायव्य कोणहरूमा ८।८ का २ लहर गरी १६ का क्रमले कालो शिलाका अघ्र्यमाथि ६४ ज्योतिर्लिङ्ग स्वरूप शिवलिङ्गहरू स्थापना भएका छन् । ६४ ज्योतिर्लिङ्गका पूर्व र पश्चिमतर्फ दाचिअप्पा ईँटाबुट्टाद्वारा ३२” कै उचाइमा ६।६ का २ लहर गरी कालो शिलाका १२ ज्योतिर्लिङ्ग पनि स्थापना गरिएका छन्। चौंसठ्ठी शिवलिङ्ग र द्वादश ज्योतिर्लिङ्गका पूर्व, पश्चिम, उत्तर र दक्षिणतर्फ भुइँदेखि ३०” को उचाइमा दाचिअप्पा ईँटाबुट्टाद्वारा सद्योजात, तत्पुरूष, अघोर र वामदेवका १ मुखभएका कालो शिलाका विग्रह स्थापना गरिएका छन्। यसमध्ये उत्तर तर्फको ३६” उचाइ र दक्षिणमा कालो ढुङ्गा छापिएको ३५” उचाइको आसन छ भने पूर्व–पश्चिम द्वादश ज्योतिर्लिङ्गकै लहरमा सोही उचाइमा स्थापना गरिएको छ । पुजारीद्वारा बिहान बेलुका पूजा आरती हुने गरेको यो आसनको सरसफाइ र अन्य अवस्था राम्रो छ । शिवपर्वका अवसरहरूमा विशेष पूजा र जनसहभागिताद्वारा व्यक्तिगत रूपमा पनि पूजा अर्चना हुने गरेको शिवलिङ्गमा चढाइएका जलको उचित व्यवस्थापन गर्नु जरूरी देखिन्छ। नयाँ भएकोले मर्मत गर्नुपर्ने अवस्था आइसकेको देखिदैन । चौंसठ्ठी शिवलिङ्ग र द्वादश ज्योतिर्लिङ्गहरूमा वरिपरिबाट परिक्रमा गर्न मिल्ने गरी बाटो बनाइएको छ।
चौंसठ्ठी शिवलिङ्गको विवरण यस्तो छ ः
| १. श्री कुशेश्वर | ३२. श्री बज्रयोगिनी योगेश्वर | ६३. श्री भुवनेश्वर | |
| २. श्री भीमेश्वर | ३३. श्री नारायणेश्वर | ६४. श्री रूद्रागारेश्वर | |
| ३. श्री काफिश्वर | ३४. श्री ज्योतिर्लिङ्गेश्वर | ||
| ४. श्री कश्यपेश्वर | ३५. श्री रत्नचूडेश्वर | ||
| ५. श्री स्फटिकेश्वर | ३६. श्री वागीश्वर | ||
| ६. श्री चण्डेश्वर | ३७. श्री कीलेश्वर | ||
| ७. श्री धनेश्वर | ३८. श्री बाल्मीकेश्वर | ||
| ८. श्री विकटेश्वर | ३९. श्री मङ्गलेश्वर | ||
| ९. श्री इन्द्रेश्वर | ४०. श्री विमलेश्वर | ||
| १०. श्री भालेश्वर | ४१. श्री अनन्तलिङ्गेश्वर | ||
| ११. श्री गुप्तेश्वर | ४२. श्री विश्वरूपेश्वर | ||
| १२. श्री तिलेश्वर | ४३. श्री सोमेश्वर | ||
| १३. श्री चम्पकेश्वर | ४४. श्री गोभराटेश्वर | ||
| १४. श्री रामेश्वर | ४५. श्री भृङ्गीश्वर | ||
| १५. श्री कालेश्वर | ४६. श्री त्रिलिङ्गेश्वर | ||
| १६. श्री नटारम्भेश्वर | ४७. श्री कुपितेश्वर | ||
| १७. श्री उद्दालकेश्वर | ४८. श्री सर्वेश्वर | ||
| १८. श्री गोपालेश्वर | ४९. श्री गोलोकेश्वर | ||
| १९. श्री चम्पेश्वर | ५०. श्री चन्दनभराटेश्वर | ||
| २०. श्री उन्मत्तेश्वर | ५१. श्री यक्षेश्वर | ||
| २१. श्री नन्दिकेश्वर | ५२. श्री चण्डिकेश्वर | ||
| २२. श्री गोखुरेश्वर | ५३. श्री धर्मेश्वर | ||
| २३. श्री पाण्डुकेश्वर | ५४. श्री गोकर्णेश्वर | ||
| २४. श्री कूटेश्वर | ५५. श्री कोटेश्वर | ||
| २५. श्री असितेश्वर | ५६. श्री वाणेश्वर | ||
| २६. श्री भैरवेश्वर | ५७. श्री ज्ञानेश्वर | ||
| २७. श्री ब्रह्मेश्वर | ५८. श्री पर्वतेश्वर | ||
| २८. श्री स्कन्देश्वर | ५९. श्री जलेश्वर | ||
| २९. श्री शतरूद्रेश्वर | ६०. श्री गुह्येश्वर | ||
| ३०. श्री काकेश्वर | ६१. श्री किरातेश्वर | ||
| ३१. श्री मणिचूडेश्वर | ६२. श्री भस्मेश्वर |
द्वादश ज्योतिर्लिङ्गका नाम
| १. सोमनाथ | २. मल्लिकार्जुन | ३. महाकालेश्वर | ४. ॐकारेश्वर अमलेश्वर |
| ५. वैद्यनाथ | ६. भीमशङ्कर | ७. रामेश्वर | ८. नागेश्वर |
| ९. विश्वेश्वर | १०. त्र्यम्बकेश्वर | ११. केदार–विमलेश्वर | १२. घुस्मेश्वर (घृस्मेश्वर) |