Pooja, Festivals, and Religious Management

खानेपानीको पम्प स्टेशन

कोटेश्वर महादेवस्थान परिसर बाहिरपट्टि पश्चिमतर्फ तल ओर्लने सिँढीको मुखैमा बायाँतर्फ एउटा खानेपानी कार्यालय, ललितपुर, भैंसेपाटीको पम्पस्टेशन र सिमेन्ट प्लाष्टर गरेको एकतले सानो पक्की भवन छ । यहाँबाट आ.व. २०७०/७१ मा पानी निकाली कोटेश्वर क्षेत्रमा पानी वितरण गर्ने गरेकोमा २०७२ सालको भूकम्पपछि पानी आउन बन्द भएको जानकारी हुन आएकोले हाल यहाँको पम्प सञ्चालनमा छैन ।

बिजुलीको ट्रान्सफरमर

कोटेश्वर महादेवस्थान परिसरको चौंसठ्ठी शिवलिङ्गसहित द्वादश ज्योतिर्लिङ्ग र कोटीश्वर महादेव क्षेत्रमा नेपाल विद्युत प्राधिकरणको २०० प्ख्ब् क्षमताका २ वटा फलामका खम्बामा अड्याएर राखिएको एउटा ट्रान्सफरमर कोटेश्वर क्षेत्रमा बिजुली वितरण भएको समय २०३४ सालदेखि सञ्चालनमा रहेको छ ।

पानीट्याङ्की धारो

कोटेश्वर महादेवस्थान परिसरमा चौंसठ्ठी शिवलिङ्गसहित द्वादश ज्योतिर्लिङ्ग र कोटीश्वर महादेव क्षेत्र पश्चिमतर्फ उत्तर ढोकासँगै लम्बाई २८ फिट × चौडाइ १० फिट × उ.४६” को लाम्चो जमिनमा पानी जम्मा गर्ने एउटा ट्याङ्की छ । सोही ट्याङ्कीमाथि उत्तर छेउमा फलामको ११ फिट अग्लो स्ट्याण्ड बनाई २००० लिटरको पानी ट्याङ्कीसहित एउटा धारो उत्तर ढोकासँगै छ । हाल सोही धाराको जल मन्दिरमा चढाउने एवम् प्रयोग गर्ने गरिएको छ । ट्याङ्की र धारो समाजले २०७७ सालमा निर्माण गरेको हो ।मन्दिरमा विशेष काम पर्दा स्थानाभाव भएमा अस्थायी रूपमा ट्याङ्कीमाथि बसी धार्मिक सामाजिक कार्य गर्न पनि प्रयोग गर्न मिल्नेगरी ट्याङ्की बनाइएको छ । ट्याङ्कीको वर्तमान अवस्था राम्रो छ । २०८० माघ ११ गतेदेखि २०८० फागुन ११ गतेसम्म एक महिनासम्म सामूहिक रूपमा यही स्थानमा पार्थिव शिवलिङ्ग निर्माणगरी पूजन गरिएको थियो । ती पार्थिव शिवलिङ्ग सिन्धुलीको कुशेश्वर नजिक सुनकोशी नदीमा विसर्जन गरेर कार्यसम्पन्न गरिएको थियो ।

पारिजातको रूख रहेको चौतारो

कोटेश्वर महादेवस्थान परिसरमा भित्रपट्टि कपूरको वृक्ष र त्रिशूल÷डमरू पूर्व एउटा पारिजाको वृक्ष रहेको छ । यो वृक्ष कोटेश्वरनिवासी स्व. बोधबहादुर भुजेलले २०३५ सालतिर रोप्नु भएको हो । वृक्षलाई घेरेर चारकुने चौतारो, दाचिअप्पा इँटाबुट्टाद्वारा समाजले २०७७ सालमा बनाएको छ । वृक्षको आजको अवस्था राम्रो छ ।

रूद्राक्ष रूखको (Rudraksh tree) चौतारो

कोटेश्वर महादेवस्थान परिसरमा भित्रपट्टि पारिजातको वृक्षको पूर्वपट्टि एउटा रूद्राक्षको वृक्ष रहेकोछ । यो वृक्ष स्व. बोधबहादुर भुजेलले २०३५ सालतिर रोप्नु भएको हो । वृक्षलाई घेरेर दाचिअप्पा ईँटा बुट्टाद्वारा समाजले २०७७ सालमा चारकुने चौतारो बनाएको छ । प्रस्तुत रूद्राक्ष वृक्षसँगै निज स्व. भुजेलले अर्को एक रूद्राक्षको विरूवा पनि सोही समयमा रोप्नु भएको र उक्त वृक्ष चौंसठ्ठी शिवलिङ्गसहित द्वादश ज्योतिर्लिङ्ग र ट्रान्सफरमरको क्षेत्रमा अवस्थित छ । वृक्षको अवस्था राम्रो छ ।

कपूर रूखको (C.camphora)चौतारो

कोटेश्वर महादेवस्थान परिसरमा भित्रपट्टि उत्तरढोका अगाडि एउटा कपूरको वृक्ष रहेको छ । दाचिअप्पा ईँटा बुट्टाद्वारा समाजले २०७७ सालमा वृक्षलाई घेरेर चारकुने चौतारो बनाएको छ । वृक्ष करिब३०/३५ वर्ष पुरानो देखिन्छ । वृक्ष बढ्दै गएकोले चौतारोलाई चर्काइसकेको छ । वृक्षको चौतारो फेदको गोलाई हाल २’१०” को छ । वृक्षको उँचाई २५ फिट जतिको भएको छ ।

दशाचल महायज्ञस्थल

कोटेश्वर महादेवस्थान परिसरमा बाहिरपट्टि करिब १.५ रोपनी क्षेत्रफल भएको प्रस्तर फलक छापिएको खुला स्थान छ । त्यहाँ विभिन्न अवसरमा हार्मिक सामाजिक कार्यहरू हुँदै आएका हुन् । २०५४ मा कोटिहोम भएको यो ठाउँमा विगत केही वर्षदेखि बालाचतुर्दशीमा महादीप बाल्ने, रक्तदान एवं स्वस्थ्य शिविर संचालन गर्ने, मानिसहरू भेला हुने, निर्वाचनताका उम्मेद्वारहरूले सभा गर्ने कामसमेत यहाँ हुँदै आए । कोटेश्वर नरेफाँटका उपाध्यक्ष हरिभक्त न्यौपानेको भनाई अनुसार विगत ४/५ वर्षदेखि हरेकृष्ण समूहद्वारा हरेक शनिवार र प्रत्येक श्रावण महिनाभरि हनुमान क्षेत्रमा हुने भजन–सत्संगलगायत दैनिक हुने हुँदा चहलपहल हुने गर्दछ । ज्येष्ठ नागरिकबस्नेबेञ्चहरू, फूलमाला पसल, ब्राह्मणहरू बस्ने स्थान, पंक्षी आहार–पानी स्थल, सँगै रहेको त्यहाँ कोटेश्वर सरस्वती माध्यमिक विद्यालयका छात्राछात्रहरू एवं स्थानीय बालबालिका खेल्ने कार्यमा पनि त्यो मैदान प्रयोग भैरहेको छ । समाजद्वारा २०५४ सालमा र पछि पनि यस स्थानकोमर्मत संभार हुँदै आएको छ । यसै खुला मैदानमा २०८१ मंसिर २७ देखि ३१ सम्म कोटेश्वर महादेव क्षेत्र विकास तथा व्यवस्थापन समाजको आयोजनामा दशाचल महायज्ञ सम्पन्न भएको थियो । सम्मवतः नेपालमै पहिलो पटक भएको त्यो महायक्षबाट भक्तहरूले प्रशस्त धार्मिक लाभ लिएका थिए ।

भित्री परिसरका खुला स्थान

कोटेश्वर महादेवस्थान परिसरमा विभिन्न मन्दिरहरू लगायत संरचनाहरूभन्दा खाली स्थानमा समाजद्वारा प्रस्तर फलक छापिएकोले हालको अवस्था राम्रो छ । जहाँ उत्सव र पर्वहरूमा धर्मघटदान, त्रिपुरोत्सव लगायत समाजद्वारा सालवसाली तोकिएका पूजा÷उत्सवादि कार्यहरूका साथै प्रत्येक शनिवार र अन्य विशेष अवसरमा हुने संगीतमय शिव आरती आदि कार्यक्रमहरू भैरहने गरेका छन्।


मन्दिर र परिसर सरसफाई

कोटेश्वर महादेवस्थान र परिसरको सरसफाई समाजले तोकिएका कर्मचारीहरूद्वारा दैनिक रूपमा गर्ने गराउने गरेको छ । यसका अतिरिक्त काठमाडौँ महानगरपालिकाले पनि आफ्नो क्षेत्र भएकोले दायित्वस्वरूप समय समयमा आवश्यकता अनुसार पानीको फोहोरा लगाई सफा गर्ने, विशेष बढारकुँडार एवं संभार गर्ने, रंगरोगन गर्ने काम पनि गर्दै आएकोले मन्दिर परिसर सफा, सुघ्घर र आकर्षक बन्दै गएकोअवस्था छ ।

मन्दिर सजावट

कोटेश्वर महादेवस्थान परिसरमा समाजले मूल मन्दिरलगायत अन्य मन्दिरहरू एवं बाहिरी परिसरमा रहेको ठूलो पीपलको वृक्ष र ढोकाहरूमा समेत झिलिमिली बत्तीहरू बाल्ने, फल्डलाइटहरू बाल्ने आवश्यकता अनुसार पताकाहरू राख्ने आदि कार्यहरू गरी मन्दिर परिसरलाई सजाउने कार्य गरेको पाइन्छ । पीपलको वृक्षमा बास बस्ने चराचुरूङ्गीहरूलाई असर परेको संझी थोरै समयमै पीपलको वृक्षमा जडान गरिएको झिलीमिली बत्ती हटाइसकिएको छ । काठमाडौं महानगरपालिकाले आफ्नो दायित्वस्वरूप २०८१ माघ महिनामा फूलपातसहितका १५० वटा विरूवा भएका गमलाहरू ल्याएर सुहाउँदा स्थानहरूमा राखी सजावटको काममा समाजलाई सहयोग गरेकोले मन्दिर परिसर थप आकर्षक बनेको हुँदा अवस्था राम्रो छ।

रेलिबसहित ढुङ्गा छापिएको सिँढीको बाटो

कोटेश्वर महादेवस्थानमा आउने–जाने विभिन्न बाटाहरू मध्ये कोटेश्वर महादेवस्थान बाहिरी परिसरको पश्चिमपट्टि पश्चिम ढोकासँगैको सिंढीको बाटो पनि एउटा हो । सो बाटो पहिले ओरालो–उकालो स्लोप परेको, ढुंङ्गा छापिएको अवस्थाको भएकोमा पछि सिमेन्टको सिंढी बनाई ढुङ्गा छापिएको छ । यो सिंढीका खुड्किला हिँड्दा ठिक्क उचाइका छन्। ५” उँचाईका खुट्किलाको सो बाटोको दायाँ बायाँ फलामको गोलो मोटो रेलिङ्गसमेत राखिएको छ । 

उक्त सिंढीको बाटोबाट महादेवस्थानको पश्चिमढोका हुँदै नवदुर्गा भगवती मन्दिरसँगैको पीच बाटो पुग्न सहज भएको छ । सो सिंढीमा रेलिङ्ग राख्ने काम काठमाडौँ महानगरपालिकाको ३२ नम्बर वडाले आ.व. २०७५/७६ मा आर्थिक लगानी गरेको जानकारी प्राप्त भएको छ ।

तुर्तुरेधारो – पानी ट्याङ्की

कोटेश्वर महादेवस्थानको पश्चिम ढोकासँगैको सिंढी बाटो हिँड्ने क्रममा ओर्लने बखत सिंढीको बीचतिर बायाँतर्फ जमराघरको तल्लोपट्टि र नवदुर्गा भगवती मन्दिरको माथिपट्टि थोरै पानी झर्ने एउटा तुर्तुरे धारो धेरै अगाडिदेखि थियो । आ.व. २०५०÷५१ मा ३२ नम्वर वडाद्वारा पानी खेर नजाओस् भनी एक पक्की ट्याङ्की निर्माण गरी ढुङ्गे धारोसमेत राखिएको छ । धारोबाट सधैं पानी आएको नदेखिए पनि वर्षायाममा थोरै पानी आएको देखिन्छ । पहिले तुर्र पानी आउने समयमा त्यही धारोबाट समेत भाँडोमा थापी जल ल्याई कोटेश्वर महादेवमा जलधारा गरी चढाउने गरिएको थियो । सँधै पानी नआए पनि हाल धारोको भौतिक अवस्था राम्रो छ ।

नवदुर्गा भगवती मन्दिर

माथि पानी ट्याङ्की तल्लो भागमा सिंढीको बाटो छेउमा मूलबाटोसँगै नवदुर्गा भगवतीको ईँटाद्वारा निर्मित मन्दिर छ । मिति २०५९ असोज २६ शिलान्यास र मिति २०६३ मंसीर २१ निर्माण सम्पन्न उल्लेख गरिएको शिलालेख राखिएको सोमन्दिर प्यागोडा शैलीको छ । मन्दिरको लम्वाई ११’४” चौडाई ११’४” उ ११’४” गजूरसहितको उचाइ करिब ३३ फिटको पश्चिमतर्फ फर्केको सोमन्दिरभित्र माता नवदुर्गाकोभव्य विग्रह छ ।

मन्दिरको ढोकाअगाडि सानै प्राङ्गण भए पनि एउटा यज्ञकुण्ड छ र सामान्य पूजापाठ गर्न पुग्छ । मन्दिरको दक्षिणपट्टि एउटा घरको भित्तामा आजीवन सदस्यहरू र मन्दिर निर्माणमा सहयोग गर्ने १६८ जना दाताहरूको नाम, ठेगाना, रकम उल्लेख गरिएको सेतो सिंगमरमरको रातो र कालो अक्षरमा कुँदिएको शिलालेख टाँस गरिएको छ । विहान बेलुका पुजारीद्वारा नित्य पूजा आरती हुने मन्दिरको सरसफाईको अवस्था राम्रो छ ।

जमरा घर + ॐ नारायण एकादशी सेवा

कोटेश्वर महादेवस्थान परिसरमा बाहिर पश्चिमपट्टि स्थित सिंढीको बाटो ओर्लदा बायाँपट्टि श्री नवदुर्गा भगवती मन्दिर व्यवस्थापन समितिको नाममा एउटा एकनाले, दुइतले, पँहेलो रंग लगाइएको जमरा घर छ। संयोजक र कार्यसमितिका पदाधिकारीसहित भवन निर्माणार्थ सहयोग गर्ने महानुभावहरूको नामावलीसहित रातो–कालो अक्षरमा सिंगमरमरमा कुँदिएको एउटा शिलालेख घरको भित्तामा टाँस गरिएको छ । भवनको पश्चिमपट्टि भुर्इँतलामा एउटा सानो यज्ञकुण्डसहित एउटा मझौलोहल पनि छ । सो स्थानमा सानो प्रकृतिको आवश्यक धार्मिक–सामाजिक कार्य गर्न सकिने देखिन्छ ।

इनार

कोटेश्वर महादेवस्थान परिसरमा भित्रपट्टि मूल मन्दिरको ईशानकोणमा बुट्टासहित दाचिअप्पा ईँटाले बनेको भुर्इँदेखि १.५ फिट उँचाईमा ११’ ८” परिधि भएको गोलो एउटा बन्द इनार निर्माण भएको छ । इनारको गहिराई २५ फिट छ । २०७७ सालमा जमाजद्वारा निर्मित यस इनारमा कोटेश्वर महादेवमा चढाइएको जल भित्रभित्रै पाइपद्वारा जम्मा भैनिकास हुने व्यवस्था समाजले मिलाएकोछ ।

चौंसठ्ठी शिवलिङ्गसहित द्वादश ज्योतिर्लिङ्ग र कोटीश्वर महादेव क्षेत्रको शिलालेख

कोटेश्वर महादेवस्थान परिसरमा मूल मन्दिरको उत्तरपट्टि स्थापित चौंसठ्ठी शिवलिङ्गसहित द्वादश ज्योतिर्लिङ्ग र कोटीश्वर महादेव क्षेत्रको उत्तरतर्फको पर्खालमा कालो ग्रेनाइटमा पहेलो अक्षरमा कुँदिएको टायलले छाइएको गजूरसहित दाचिअप्पा ईँटाबुट्टासहितको शिलालेख छ । फ्रेमबाहेकको लम्वाई ७’९”× चौडाई ३’८” को सो शिलालेखको व्यहोरा श्री कोटेश्वर महादेव मन्दिर परिसरमा नवनिर्मित चतुर्षष्ठि शिवलिङ्ग र पशुपति मन्दिर पुनर्निर्माणका लागि श्री कोटेश्वर महादेव क्षेत्र विकास तथा व्यवस्थापन समाजको अगुवाईमा श्री कोटेश्वर समाज सुधार युवा क्लब, ॐकार टेलिभिजन र ढकाल परिवारको सक्रियतामा देहायबमोजिमका दाताहरूको आर्थिक सहयोग रहेको भनी १२१ जना व्यक्ति–परिवारको नाम, ठेगाना र रकमसमेत लेखिएको छ । शिलालेखमा मिति उल्लेख गर्न छुटे पनि २०८०/१०/२० मा समाज, दाताहरू र ढकाल परिवारसहित सामूहिक पूजा गरी चौंसठ्ठी शिवलिङ्गसहित द्वादश ज्योतिर्लिङ्ग र कोटीश्वर महादेवको प्राणप्रतिष्ठा भएको हो ।

भवानी स्थानको घण्ट

कोटेश्वर महादेवस्थान परिसरमा भवानीस्थानको प्राङ्गणमा पूर्वतर्फको पर्खालसँगै ऐना र गजूर भएका दुई खम्बामा निदालमा अड्याइएको ढलौटको रालोसहितको एउटा ठूलैबुट्टेदार घण्ट ७ फिट उँचाईको विशेष स्थान बनाई राखिएको छ । सोघण्टमा स्वस्तिक चिह्नसहित सिराहा जिल्ला सिराहा नगरपालिका–१ बस्ने राजु प्र. उपाध्याय/मिठू उपाध्यायका छोराहरू रञ्जन र रविनले हजुरबुबा श्री बद्रिप्रसाद उपाध्याय तथा हजुरआमा सावित्रीदेवीको सम्झनामा चढाएको मिति २०७५/४/२६ समेत कुँदिएको छ । घण्टको परिधि गोलाई ४’ ६”, उँचाई २’ र पिलरको साइज २’९” छ ।

सत्यनारायण तथा गरूडनारायण मन्दिर

कोटेश्वर महादेवस्थान परिसरमा मूलमन्दिरको पश्चिमतर्फ–वायव्य कोणमा नाग, विष्णुपादुकासँगै एउटा शिखरशैलीको ढुङ्गाको मन्दिरकोछ । मन्दिरकोबाहिरी भागको चौडाई ८’ लम्बाई १८’ उचाई र करिब २२ फिट (गजूरसहित) को शिलाको गजूर भएको सत्यनारायण तथा गरूड नारायणको अगाडि चारवटा ढुङ्गाकै खम्बामा सिलिङ्ग भएको सानो गजूरसहित पिढी पनि छ । 

अध्र्यमाथि ढुङ्गाको बुट्टेदार आसनमा गरूडमाथि सवार मुकुट, कुण्डल र साजसज्जासहितका नारायणले ४ हातमा शब्ख, चक्र, गदा पद्म लिनुभएको आकर्षक विग्रह छ । साथै गरूडको पखेटामाथि दायाँ बायाँ लक्ष्मी र सरस्वतीका वरद÷अभय मुद्राका विग्रह पनि छन्। मन्दिरका दायाँ बायाँ ससाना ६।६ प्वाल भएका ढुङ्गाकै आँखिझ्यालहरू पनि छन्।

गरूडमाथि सवार श्री सत्यनारायण तथा गरूडनारायणको कालो शिलाको उचाई ५१” र चौडाई ३१” को विग्रह छ । ढुङ्गाकै तोरणसहितको खुला ढोकामा हाल समितिले फलामका २ खापा भएका ताल्चा लगाउन मिल्ने ढोका जडान गरेको छ ।पुजारीद्वारा बिहान बेलुका पूजा आरती हुने गरेको कारण त्यसकोअवस्था राम्रो छ । खुला मन्दिर भएकोले मुसाको आवत जावत हुनुका साथैमन्दिरभित्र प्वाल पनि छ । प्रत्येक एकादशीमा मन्दिरबाट विशेष पूजा र भक्तहरूबाट पनि पूजा हुने गरेको पाइन्छ । मन्दिरको हालको अवस्था राम्रै छ । मन्दिरभित्र भगवान्को दायाँतर्फ भित्तामा ठोकिएको फलामको किलामा धातुका साना २ घण्ट झुण्ड्याइएका छन् । बायाँतर्फ भित्तामा एउटा दियो जडान छ तर सफा हुन नपाएकोले बत्ती र तेल जलेर यो दियोको स्वरूप अनौठो भएको छ । मन्दिरको ढोकामा सत्यनारायण भनी टाँस भएको छ । ठीक यस्तै फोटो राष्ट्रिय अभिलेखालयमा रहेको छ जसलाई गरूडनारायण भनिएकोले यहाँ पनि दुवै नाम प्रयोग भएको छ । यस्तै विग्रहको फोटो पूर्व राजा वीरेन्द्रको पाला एवं गभर्नर कुलशेखर शर्माको समय (२०३० ?) सालदेखि हालसम्म नेपाल राष्ट्र बैँकले छापी प्रचलनमा ल्याएकोदश रूपियाँको नोटमा पनि राखिएको छ ।

जोशी समाज केन्द्रीय कार्यसमिति, शंखमूल, ललितपुरले मिति २०८२/०२/१८ मा समाजलाई पत्र लेखी प्रस्तुत भगवान् चाँगु नारायण हुन् भनी चाँगु नारायण नामकरण गर्न अनुरोधमूलक सुझाव प्राप्र भएकोजानकारी हुन आएको छ ।