कोटेश्वर महादेव मन्दिरै मन्दिरको शहर नेपालको राजधानी काठमाडौंस्थित श्री पशुपतिनाथ मन्दिरदेखि करिव ३ किलोमिटर दक्षिणमा विराजमान हुनुहुन्छ । कोटेश्वर महादेवकै नामबाट कोटेश्वर नाम रहन
गएको यो स्थान समुद्र सतहदेखि १३५० मिटरको उचाइमा, अक्षांश २७.७१ डिग्री उत्तर र देशान्तर ८५.३२ डिग्री पूर्वमा अवस्थित छ । हाल यस कोटेश्वरको पूर्वतर्फ भक्तपुर जिल्लाको लौहकिल्थली, पश्चिमतर्फ काठमाडौं जिल्लाकै मीनभवन, बानेश्वर वा नयाँ बानेश्वर क्षेत्र, उत्तरतर्फ पशुपतिनाथ मन्दिर, सिनामङ्गल र दक्षिणतर्फ ललितपुर जिल्लाको बालकुमारी, ग्वार्काे क्षेत्र रहेका छन् । साथै पूर्व – पूर्वोत्तरतर्फ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल एवं दक्षिण–पश्चिमतर्फ धेरै माहात्म्य भएको पवित्र शंखमूल क्षेत्र अवस्थित छन्।
कोटेश्वर महादेव मणिमती र हनुमती नदीका संगमको हनुमान तीर्थदेखि दुईहजार धनु वायव्यतर्फ काठमाडौंका प्रसिद्ध नदी बागमती, मणिमती (मनोहरा) र रूद्रधारा तीर्थको पूर्व–ईशानतर्फ मन्दरपर्वतमा, मणिभैरवका समीपमा, कोटदेवीको नजिकमा, उत्तर प्रयाग तीर्थ, शंखमूल तीर्थको सान्निध्यमा एवं प्रसिद्ध तीर्थहरू अमरावती, विमलावती निर्मलावती, वायुमती, योगवती (योगकुण्ड, महातीर्थ), सिद्धमती तथा सन्ततीर्थका साथै रूद्रघाट, तिलोत्तमाघाट, रम्भाघाट र रम्भापोखरी समेतको केन्द्र स्थानमा द्द अवस्थिति कोटेश्वर सरस्वती माध्यमिक विद्यालय समेत लगभग ६ रोपनी क्षेत्रफल जग्गामाथि कोटेश्वर विराजमान हुनुभएको छ ।
कोटेश्वर महादेव काठमाडौं उपत्यका र वरिपरिका विभिन्न १० जिल्लाहरूमा अवस्थित चौसठ्ठी लिङ्गमध्ये ५५औँ लिङ्ग भएको कुरा हिमवत्खण्डको पृष्ठ ७१ र श्री मधुसूदन सुवेदी र पण्डित कृष्णप्रसाद खनालद्वारा सम्पादित नेपाल अधिराज्यको चतुषष्ठी स्वयम्भू सिद्धज्योतिर्लिङ्ग एवं पशुपति दर्शन महिमा, प्रथम संस्करण २०६७, पृ. १९५ मा उल्लेख छ ।
पहिले भक्तपुर (भादगाउँ) जिल्लामा र २०२६ सालभन्दा अघि ललितपुर (पाटन) जिल्ला अन्तर्गत रहेको कोटेश्वर क्षेत्र २०२६ देखि काठमाडौं जिल्लामा अवस्थित तत्कालीन गाउँ पञ्चायत अन्तर्गत वडा नं ८ मा समावेश हुन आयो । २०३४ देखि काठमाडौं नगरपञ्चायतको वडा नम्बर १० मा र तत्पश्चात्काठमाडौं महानगर भएपछि वडा नम्बर ३५ मा रही हाल काठमाडौँ महानगरको वडा नम्बर ३२ मा परेको छ ।
कोटेश्वर महादेवको उत्पत्ति/स्थापना
स्वस्थानी कथाका अनुसार सतीदेवीको बायाँ हात पतन भएको स्थानमा कोटेश्वर महादेव १४औँ ज्योतिर्लिङ्गका रूपमा उत्पन्न हुनुभएको हो ।
कोटेश्वर महादेवको सेवामा रहनु भएका हाल ८७ वर्षीय कोटेश्वर निवासी श्री गोपाल बस्नेतको भनाई अनुसार चाहिँ २५औँ ज्योतिर्लिङ्ग हुनुहुन्छ ।
वाणासुरकी धाईआमा शिवभक्त कोटराको भक्तिद्वारा प्रसन्न भई भगवान् शिवले उनलाई दर्शन दिएर कोटरेश्वरका रूपमा यसै स्थानमा विराजमान हुनुभएको र कोटरेश्वरको अपभ्रंश भई कोटेश्वरको नामद्वारा प्रसिद्ध भएको हो ।
ॐ श्री कोटेश्वर महादेव आदि युगमा शंखासुरले अघोर कष्ट गरी तप गर्दा शिवजी विश्वरूप भई प्रकट भएका हुन् । राजा हरिदत्त बर्मालाई स्वप्नमा दर्शन दिएको हुनाले मन्दिर बनाई नित्यार्चनलाई धेरै खेत गुठी राखी दिएर सेवा गरिआएका थिए । पछि यिनै ईश्वरको दर्शन पाई मुक्त भई भएर । यी शिवलिङ्ग ६४ लिङ्ग भित्रका हुन्।
यसैगरी, कोट्ट शब्द दुर्गपुर (कठिन गन्तव्य स्थल)को वाचक हो । त्यस्तो दुर्गपुरमा उत्पन्न भएका महादेव कोटेश्वर महादेव हुन्। यिनै महादेवको नामबाट नगरको नाम पनि कोटेश्वर रहन गएको छ।
कोटेश्वर क्षेत्रको नरेफाँटमा विगत कालखण्डमा फाँटेराजा थिए । राजा भएपछि उनको बासस्थान क्षेत्रभित्र कोत पनि हुने नै भयो । कोतको संरक्षणको निम्ति देवीका रूपमा कोतदेवी र देवताका रूपमा कोतेश्वर महादेव थिए । समय क्रममा अपभ्रंश भई कोतदेवी, कोटदेवी र कोतेश्वर महादेव कोटेश्वर महादेवको रूपमा सम्बोधन गर्न थालिएको हो भन्ने सुनेको हुँ । फाँटे राजाको दरबारको भग्नावशेष देख्ने मानिसले भनेका र मैले पनि भग्नावशेषका केही अंश देखेको हुँ भनी कोटेश्वर हाल जडीबुटी क्षेत्र निवासी ७३ वर्षीय
श्री केशवप्रसाद ढकाल बताउनु हुन्छ ।
कोटेश्वर महादेव कोटिकोटि जीवहरूका नाथ हुनुभएकोले कोटिनाथको नामबाट पनि परिचित हुनुहुन्छ ।
(क) मूल मन्दिरको गारोको लम्बाइ १४’ ५” पश्चिमतर्फ, १४’ ५” उत्तरतर्फ, १४’ ५” पूर्वतर्फ र १४’ ५” दक्षिणतर्फ रहेको देखिन्छ ।
(ख) मूल मन्दिरको पेटीसहित बाहिरी भागको लम्बाइ २३’ ९” चौडाई पश्चिमपट्टि, लम्बाइ २२’ ४” चौडाई ४’ उत्तरतर्फ, लम्बाइ २३’ २” चौडाई ४’ पूर्वतर्फ, र लम्बाइ २२’ ५” चौडाई ४’ ६” दक्षिणतर्फ रहेको छ ।
मन्दिर भित्र कालो प्रस्तरको अन्दाजी सवा मिटर अग्लो, तलबाट माथितिर उत्तरतर्फ ढल्केको, ठूलो अघ्र्यमाथि दक्षिणतर्फ फर्केको, निराकार स्वरूपको शिवलिङ्ग कोटेश्वर महादेव स्वयम्भूलिङ्गका रुपमा विराजमान हुनुभएको छ । साथमा शालिग्रामहरू पनि हुनुहुन्छ ।
(क) गर्भगृहको मध्य भागमा शिवजीको,

(ख) शिवजीको दायाँतर्फ भित्तामा तल्लो भागमा काला प्रस्तरका लहरै शिवजीतिर हात जोडेर उभिएको अवस्थाका अष्ट चिरञ्जीवी भनी पूजा गरिँदै आइएका अष्टचिरञ्जीवीहरू (मार्कण्डेय, बलि, व्यास,हनुमान्, विभीषण, कृपाचार्य, अश्वत्थामा, परशुराम); २०८१ चैत्र ८ गते शुक्रबार कोटेश्वर महादेवको दर्शनार्थ आउनुभएका प्रा. विद्यानाथ उपाध्यायले निरीक्षणपश्चात् हात जोडेका विग्रह देखेर अष्टचिरञ्जीवी नभई भक्तहरू पो हुन् कि भन्नुभएको । हात जोडेर वा भगवद् भक्तिद्वारा नै अष्टचिरञ्जीवी हुन पाएकाले अष्टचिरञ्जीवी नै हुन्भन्ने लाग्दछ ।

(ग) शिवलिङ्गको पछाडि दायाँपट्टि, तल पार्वती, (पूजारी श्री लक्ष्मण पाण्डेका अनुसार) कालो, प्रस्तरको, दक्षिणाभिमुख साइज सानो,
(घ) शिवलिङ्गको पछाडि दायाँपट्टि, माथि गणेशजी, खैरो रंगको, प्रस्तरको, दक्षिणाभिमुख साइज सानो,
(ड़) शिवलिंगको बायाँपट्टि पूर्वी भित्तामा सप्तऋषिः– कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, गौतम, जगदग्नि र साथमा अरून्धती सहित वशिष्ठ छन् । माथिल्लो खण्डमा ३ र तल्लो खण्डमा ४ जना बसेको अवस्थाका कालो प्रस्तरका विग्रहहरू छन् । पुजारी लक्ष्मणजीको भनाई सप्तपाद भनेको सुनेको हुँ भन्ने छ, सप्तवाद भनेको सप्रऋषि वा के हो ? सो प्रस्ट हुन आवश्यक छ ।

(च) शिवलिङ्गको पछाडि पूर्वतर्फ फणा सहितको बासुकी नागको कालो प्रस्तरको दक्षिणाभिमुख विग्रह छ । जसको साइज सानो रहेको छ ।
(छ) मन्दिरभित्रको पूरै शिवलिङ्गभरि रूद्राक्षका दानाहरूद्वारा उनेर टम्म मिलाई मध्यभागमा विन्दुसहित अष्ट दलहरू बनाई राखिएका छन्। ती रूद्राक्षहरू तारको धागोमा उनेर बनाइएका देखिन्छन्। हाल ती रूद्राक्ष – अष्टदल धूपबत्ती बाली आरती गर्दा र बाहिरी धुवाँधुलोको प्रदूषणले कालै भएका देखिन्छन् । ३÷४ तारको धागो चुँडिएर÷फुस्किनगई तुन्रूङ्ग झुण्डिएको अवस्थामा छन् । तान्त्रिक विधिद्वारा निर्माण भएकोले नजान्ने व्यक्तिले नचलाउनु भनेर प्रा. मंगलराज जोशीले भन्नुभएको भनी समाजको संस्थापक पदाधिकारी सदस्य सनतकुमार ढकालले भन्नु भएकोले तन्त्रविद्या जान्ने विद्वानद्वारा मर्मत÷सम्भार तथा सर–सफाइ गराउनुपर्ने देखिन्छ ।